सधैं जस्तै हिउँदमा गोरखाका उत्तरी क्षेत्रका हिमालपारिका गाविसहरुमा शनिबार रातिबाट हिमपात सुरु भएको छ ।
आइतबार दिउँसो पानी परेपछि हिउँ थपिन थालेको स्थानीयबासीले बताएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि सर्वसाधरण खुसी भएका छन् । २०७२ बैशाखको भूकम्पको केन्द्रविन्दु बारपाक, लाप्राक, गुम्दा लगायत अति प्रभावित क्षेत्रमा पनि असिना पानी परेर चिसो बढेको छ । चीनको तिब्बतसँग सीमा जोडिएको सामागाउँमा एक फिट हिउँ जमेको त्यहाँ पुगेका चलचित्रकर्मी खिलबहादुर गुरुङले जानकारी दिए ।
रातिबाट हिउँ परेपछि मानिसहरु घर बाहिर निस्केका छैनन, उनले भने । चिसो बढेर जनजीवन पनि कष्टकर बनेको छ, गुरुङले भने, छानामा परेको हिउँ पन्छाउँदै आगो तापेर बसेका छौं ।
मनासलु हिमालको फेदीमा पर्ने सामागाउँ लगायत हिमपात हुने उच्च क्षेत्रका अधिकांश जाडो छल्न हिउँद सुरु भए लगत्तै तल्लो क्षेत्रमा झरेका छन् । चुम्मभ्याली अन्र्तगत छेकम्पारमा पनि हिमपात भएको स्थानियले बताए । चिसो बढेको कारण टेलिफोनले समेत राम्रो काम गर्न सकेको छैन । हिउँ परेपछि अन्नबाली सप्रने, जमिनलाई आवश्यक पानीको मात्रा पुगेर खेतीबाली सप्रने भन्दै स्थानियबासी खुसी भएका हुन् ।
असिना परेपछि बारपाकको बस्ती नजिकैको डाँडाकाडाँमा हिमपात भएको स्थानिय पुरबहादुर घलेले बताए । घाम लागेको छैन, निकै जाडो भएको छ, उनले अनुमन गर्दै भने, मौसम खुलेन भने बस्ती सम्मै हिउँ जम्न सक्छ । सिर्दिबास माथिका गाविस र बारपाकको विद्यालयहरुमा समेत जाडो बिदा भएको छ ।
गत वर्ष पनि पुसको अन्तिममा बारपाकसहित उत्तरी क्षेत्रमा हिमपात भएको थियो । हिउँले लाप्राक गुप्सीपाखाका भूकम्प पीडितको अस्थायी टहरो पुरिएको थियो । अहिले गुप्सीपाखामा एकिकृत बस्ती निर्माण गर्न अस्थायी टहरो भत्काएपछि अधिकांश पुरानै बस्तीमा फर्केका छन् । केहि चाँहि गुप्सीपाखा आसपास नै अस्थायी टहरोमा बसेको स्थानिय राज गुरुङले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।