तामाङ समुदायले सोनाम ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाउँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज (शनिबार) विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहेका सम्पूर्णकुमार लामाले जानकारी दिए ।

यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोलिन्छ, आज दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ’ उनले भने ।

यस अवसरमा नेपाल तामाङ घेदुङसहितका संघ संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । दिउँसो १२ बजेपछि सुरु हुने कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने छन् । त्यसअघि तामाङहरुले काठमाडौं उपत्यकामा भेषभूषा, झाँकीसहित र्‍याली निकाल्ने छन् ।

सोनाम ल्होसारको अवसरमा एक सातादेखि नै तामाङ समुदायले उपत्यका सहित देशका विभिन्न ठाउँमा कविता वाचन, खेलकुद, विविध सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । ल्होछार प्रवासमा रहेका तामाङले पनि विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् ।
रासस