प्रधानमन्त्रीद्वारा काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको काम एक महिनाभित्रै सुरु गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं-तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम एक महिनाभित्रै सुरु गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय गौरवका आयोजना निर्माणको काम तत्काल बढाउन दबाब दिने उद्देश्यले बाराको निजगढमा भइरहेको रिले अनशन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काठमाडौं-तराई जोड्ने द्रुतमार्गको शिलान्यास आफू प्रधानमन्त्री भएकैबेला गर्ने बताएका हुन् ।
उनले द्रुतमार्ग निर्माण कसले र कसरी गर्ने भन्नेमा देखिएको अन्योल अन्त्य भइसकेको भन्दै तत्काल काम सुरु गर्ने बताए ।
प्रधानमन्त्री दाहालले द्रुतमार्ग कस्तो बनाउने र वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठित सात सदस्यीय विशेष समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउने बताए ।
उनले आफू प्रधानमन्त्री भएपछि ठूला आयोजना निर्माणको कामले गति लिएको दाबी पनि गरे ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखिएको बसोबास व्यवस्थापन र मुआब्जाका समस्यालाई सम्बोधन गर्ने काम पनि अघि बढिरहेको उनले जानकारी दिए ।
विमानस्थलका लागि प्रस्तावित क्षेत्र बाराको टाँगीयाबस्तीका जनतालाई उचित स्थानमा व्यवस्थित गर्न छलफल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । इमेजखबरमा समाचार छ ।