दोलखामा चलेको हुरीबतासले जिल्लाभरको जनजीवन प्रभावित

दोलखामा मध्यान्हदेखि चलेको हुरीबतासले जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।  हुरी चल्न थालेपछि जंगल र टहरामा आगलागी भएको छ भने विद्युत आपूर्ति दिनभर बन्द भएको छ ।
प्रहरी नायव उपरीक्षक रवीन कार्कीले हुरीले आगो दन्किएपछि सिप्रिङखोला जलविद्युत् आयोजनास्थलका आठ कोठे मानिस बस्ने टहरा जलेर नष्ट भएको  बताए । उनले केही जंगलहरुमा आगो फैलिरहेको जानकारी दिए ।
सदरमुकाम चरिकोटमा हुरीले उडाएको धूलोको मुस्लोका कारण हिँड्डुल गर्न कठिन भयो । हुरीले पसलभित्र बस्न मुस्किल भएपछि बजारका कतिपय पसलहरु दिउँसो १ बजे नै बन्द गरिएका थिए । व्यापारिक प्रयोजनले राखिएका होडिङ बोर्डहरु झरेर सडकमा यत्रतत्र छरिएका छन् । छानाहरु उडाएकाले स्थायी टहरामा बस्ने भूकम्पपीडितको बिचल्ली भएको जानकारी आएको प्रनाउ कार्कीले बताए । छौडे प्रहरी चौकीको छाना उडाएको छ ।
हुरीले पोल ढालेपछि जिल्लाभरि नै विद्युत्‌ आपूर्ति बन्द छ । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखा प्रमुख शेरबहादुर सुनारका अनुसार हुरीले सुनकोसी, सिप्रिङ र चर्नावतीबाट उत्पादन हुने विद्युतका प्रशारण लाइनहरुमा क्षति पुगेको छ । सुनकोसीबाट प्रसारण लाइनको बनाउन खरिढुङ्गा पुगेका कर्मचारीहरु हुरीले मोटर अगाडि बढाउन नसकेरे त्यही बसेको सुनारले बताए । कान्तिपुरमा समाचार छ ।