स्थानीय तहको निर्वाचन मिति घोषणासँगै झापामा चुनावी चहलपहल बढेको छ।
गाउँ-घरका चिया पसलदेखि चोक-गल्लीमा सर्वसाधारण चुनावका बारेमा चर्चा परिचर्चा गर्न थालेका छन्। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै गाउँघरमा चुनावको चर्चा हुन थालेको केचना-९ का वसन्तकुमार गणेशले बताए। यो गाविस विकास निर्माणको दृष्टिले पछि परेको बताउँदै उहाँले निर्वाचनपछि स्थानीय तहमा जनप्रतिनिधि आउने भएकाले विकास निर्माणका गतिविधि तिव्र रुपमा अगाडी बढ्नेमा यहाँका सर्वसाधारण आशावादी रहेको बताए। उनले भने, निर्वाचनको घोषणाले हामीलाई उत्साहित बनाएको छ ।
करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले पनि नागरिक पङ्क्तिमा उत्साह छाएको छ, चेकना गाविस सचिव सोमनाथ पौडेलले भने- स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले धेरै विकास निर्माणका काम सोचेअनुरुप हुन नसकेको अवस्था थियो । , जनताको अपेक्षा पूरा गर्न र विकास निर्माणका गतिविधिलाई तीव्रता दिन निर्वाचन आवश्यक छ उनले भने – निर्वाचित जनप्रतिनिधि आए आफूहरुलाई पनि काम गर्न धेरै सजिलो हुने थियो ।
नेपाली काँग्रेस झापा सभापति उद्धव थापाले मुलुक नै चुनावमा होमिएको बताउँदै झापाली जनता चुनावका लागि आतुर रहेको बताए। स्थानीय निकाय जनप्रतिनिधि भएकाले जनताले पाउनुपर्ने जति सेवा-सुविधा पाएका छैनन् , उनले भने, त्यसका लागि पनि चुनावमा जानुको विकल्प छैन । पार्टीले उम्मेदवार चयन प्रक्रियाको तयारीसमेत गरिसकेको सभापति थापाले बताए। त्यस्तै, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जनअपेक्षा पूरा गर्न पार्टीले चुनावको तयारीमा जुटेको बताउँदै भने जनताले निर्वाचन र जनप्रतिनिधि चाहेका छन्। निर्वाचनका लागि एमाले देशव्यापी अभियानमा जुटेको छ। त्यसका लागि पार्टीले मेची-महाकाली अभियान सञ्चालन गर्न लागेको छ।
माओवादी केन्द्र झापाका संयोजक मणिकुमार साम्पाङले स्थानीय तह निर्वाचनको मिति घोषणापछि जनतामा उत्साहको सञ्चार भएको बताउँदै पार्टीले चुनावी गतिविधिलाई तीव्रता दिएको बताए। चुनावका लागि सबै क्षेत्र जुट्नुपर्नेमा जोड दिदै उहाँले भने – हारजितका रुपमा होइन, जनअपेक्षा पूरा गर्ने आवश्यकताका रुपमा यसलाई लिनुपर्दछ । राप्रपा झापाका उपसभापति कमल खरेलले अहिले जनता चुनावको पक्षमा रहेको भन्दै राजनीतिक स्थायित्वका लागि चुनाव निर्विकल्प रहेको बताए। यहाँका जनता धेरै उत्साहित छन् , उनले भने, निर्वाचनलाई सबै मिलेर सम्पन्न गर्नुपर्दछ ।
निर्वाचन मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालय झापाले पनि आवश्यक तयारीमा जुटेको छ । केन्द्रको निर्देशनअनुसार मतदाता अध्यावधि, निर्वाचनका लागि आवश्यक जनशक्तिको विवरण लगायतका काम धमाधम भइरहेको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। उनले मतदाता अध्यावधिको काम फागुन २५ गतेसम्म सम्पन्न गरेर आयोगमा पठाइने बताए।
निर्वाचनका लागि झापामा ३१ वटा दल सूचीकृत भएका छन् । झापामा पाँच लाख तीन हजार एक सय ७३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । तीमध्ये दुई लाख ५३ हजार ३० महिला, दुई लाख ५० हजार एक सय ३९ पुरुष र चारजना तेस्रोलिङ्गी रहेका छन् ।
कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता नामावली अद्यावधिक कार्यक्रममा १३ हजार आठ सय तीनजना मतदाता थपिएका छन् । रासस