कन्चनपुरको पुनर्वासमा भारतीय एसएसबीको गोलीबाट नेपालीको मृत्यु, स्थिति तनावपूर्ण

 कल्भर्ट निर्माणका विषययमा कन्चनपुरको नेपाल-भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा विहीबार एकजनाको मृत्यु भएको छ ।
गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका-८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् ।
कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सीपी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । भारतीयको गोली लागेर अरु चारजना नेपालीहरु घाइतेसमेत भएका छन् ।
पुनर्वासको दशगजा क्षेत्रमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतको सम्पूर्णनगरका प्रहरी निरीक्षकले नेपालीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ ।
जंगेपिलरसमेत हराइसकेको सो क्षेत्रमा हालका लागि खोलामाथि कच्ची कल्भर्ट निर्माण गर्ने सहमति केही समयअघि नेपाली र भारतीय अधिकारीहरुबीच भएको थियो ।
सोही सहमतिअनुसार पुनर्वास नगरपालिकाले बुधबार (हिजो)देखि कल्भर्ट बनाउन थालेकोमा भारतीय एसएसबीले भत्काएको थियो ।
कल्भर्ट भत्काएको विरोधमा प्रदर्शन गर्न पुगेका नेपालीहरुमाथि भारतीय प्रहरीले गोली हानेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले बताए ।
बुधबार राति हतियारसहित नेपाल छिरेका एसएसबीका जवानहरुले स्थानीय नेपालीहरुलाई घर छाडेर जान धम्क्याएको पनि स्थानीयले बताएका छन् । इमेजखबरमा समाचार छ ।