संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ।
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले निर्वाचन आयोगले दिएको निर्देशन अनुसार सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारी भरहेको जानकारी दिएका हुन्।
आईतबार निर्वाचन आयोगले चैत्र ३ गते भित्र सबै स्थानीय तहमा कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको थियो ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री थापाले निर्वाचन आयोगले भनेकै समय भित्र स्थानीय तहमा कर्मचारी खटाउने गरी व्यवस्था गर्न लागिएको स्पष्ट पार्नु भयो । उनले निर्वाचनका लागि सबै खालको सहयोग उपलब्ध गराउन सरकार लागि परेको पनि उल्लेख गरे। यसैबीच, स्थानीय विकास मन्त्रालयले मंगलबारदेखि सबै स्थानीय तहको कार्यालय संचालन गर्ने भएको छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले मंगलबारदेखि ७ सय ४४ वटै स्थानीय तहको कार्यालय संचालनमा ल्याउने बताए।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार ललितपुर महानगरपालिकाको कार्यालय उदघाटन गरेर देशभरका स्थानीय तहका कार्यालयहरु संचालनमा ल्याइने बताए। सरकारले स्थानीय तह अन्तरगत महानगरपालिका, उपमहानगर पालिका, नगर पालिका र गाउँ पालिकाहरुको कार्यालय संचालन, त्यसका लागि आवश्यक्त जनशक्ति व्यवस्थापनाको कामलाई तीव्र गतिमा अघि बढाएको हो ।
सरकारले यस अघि नै सबै स्थानीय तहमा १ करोडका दरले बजेट दिने निर्णय गरिसकेको छ । – सेतोपाटीमा समाचार छ ।