नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समितिको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहँदै २०७४ वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन गरेको हो ।
निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण समेत बैठकले गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।
निर्वाचन आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति एमालेले ध्यानाकर्र्षण गराएको छ ।