चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिने

चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ ।
यही चैत २१ गते एक भाले र चार पोथी गरी पाँचवटा गैंडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो । चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
गैंडालाई शुक्लाफाँटा पुर्‍याउन प्राविधिक, सेनालगायतको एक सय जनाको टास्क फोर्स बनाइएको छ । शुक्लाफाँटामा हाल ९ वटा गैंडा छन् ।
यसअघि सन् २००० मा ४ वटा गैंडा छाडिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैंडाको संख्या १४ वटा पुग्नेछ । सरकारले शुक्लाफाँटामा ५ र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैंडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
गैंडाको राम्रो बासस्थान रहेको सुकिभार, बुढी राप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट शुक्लाफाटाका लागि गैंडा लगिने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । शुक्लाफाटामा पनि गैंडाको राम्रो बासस्थान छ, गैंडा लैजाने तयारी अन्तिम चरणमा छ, उनले भने ।
शुक्लाफाटामा गैंडाको लागि चाहिने बासस्थान राम्रो रहेकोले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ ।
यही निर्णय अनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ५ वटा गैंडा लगिएको थियो । बबई भ्यालीमा छोडिएको उक्त गैंडामध्ये एउटा बच्चा र एउटा माउ गैंडा मरिसकेका छन् । छोडिएको मध्य ३ वटामात्र गैंडा जिउँदो रहेको छ ।
चितवनका संरक्षणकर्मीहरुको बिरोधकाबाबजुद गैंडा बर्दिया लगिएको थियो । लगिएको गैंडामध्ये दुईवटा मरेपछि संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । जसका कारण शुक्लाफाँटा लैजान लागिएको गैंडाको अवस्थामा पनि के होला भन्नेमा संरक्षणकर्मीहरु चिन्तित छन् ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले चितवनको गैंडाको शुक्लाफाँटा लैजाने निर्णयमा आलोचनात्मक समर्थन मात्रै रहेको बताए । हामी सबै व्यवस्थापन नभएसम्म गैंडा स्थानान्तरण गर्नुहुँदैन भन्ने पक्षमा छौं, उनले भने, पाँचवटा गैंडा यही महिनामा शुक्लाफाँटा लैजाने तयारी भईसकेको छ यसमा हाम्रो आलोचनात्मक समर्थन रहेको छ ।
उनले शुक्लाफाँटामा गैंडा लैजान दिइए पनि गैंडाको लागि असुरक्षित रहेको बर्दियाको बबई भ्यालीमा यही अवस्थामा भने गैंडा लैजान नदिने प्रष्ट पारे ।

गैंडा दिएर बाह्रसिंगे ल्याईने
चितवनबाट दुर्लभ एक सिंगे गैंडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिने भएपछि सोही स्थानबाट दुर्लभ मानिएको बाह्रसिंगे चितवन ल्याउने तयारी गरिएको छ ।
गैंडा लैजाने टिमले नै शुक्लाफाँटाबाट बाह्रसिंगे चितवन ल्याउने अन्तिम तयारी भईरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जनाए ।
एउटै टिमले दुई काम गर्न सकिने भएकाले एकै समयमा गैंडा दिएर बाह्रसिंगे लिएर आउने तयारी भईरहेको उनको भनाइ छ । बाह्रसिंगेका लागि बासस्थान हामीले तयार गरि सकेका छौं, उनले भने, गैंडा दिने र ४-५ वटा बाह्रसिंगे लिएर आउने हाम्रो तयारी छ ।
शुक्लाफाँटामा हाल २ सय २ सय भन्दा बढी बाह्रसिंगे छन् भने बर्दियामा एक सय वटाको हाराहारीमा छन् ।
शुक्लाफाँटाबाट ल्याईने बाह्रसिंगेलाई अर्नाका लागि बनाईएको इन्क्लोजरमा राखिने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । अर्नालाई राखिएको इन्क्लोजरमा घाँसे मैदानदेखि लिएर पोखरीसम्म निर्माण गरिएको छ । इमेजखबरमा समाचार छ ।