एमालेमा एकजना व्यक्ति राज्यका तीन तहमध्ये एउटामा मात्रै उम्मेदवार बन्न पाउने निर्णय

नेकपा एमालेले एकजना व्यक्ति राज्यका तीन तहमध्ये एउटामामात्रै उम्मेदवार बन्न पाउने निर्णय गरेको छ ।
सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसदमध्ये एउटा निर्वाचनमामात्रै एकजना व्यक्ति उम्मेदवार बन्न पाउने निर्णय गरेको हो ।
यस्तै बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र निर्माण समिति पनि बनाएको छ ।
समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल, किरण गुरुङ, सुरेन्द्र पाण्डे, डा. पुष्प कँडेल सदस्य छन् ।
यस्तै, लालबाबु पण्डित, विन्दा पाण्डे, रविन्द्र अधिकारी, लालबाबु यादव र रघुबीर महासेठ पनि घोषणापत्र निर्माण समितिमा रहेका छन् ।
बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन समन्वय तथा अनुगमन समिति पनि गठन गरेको छ ।
स्थायी समितिले उम्मेदवार सिफारिसका लागि वडा कमिटीहरुलाई चैत ३० गते, गाउँ तथा नगरपालिकाहरुलाई वैशाख ४ गते, जिल्ला कमिटीहरुलाई वैशाख ७ गते र प्रदेश कमिटीहरुलाई वैशाख १० गतेसम्मको अवधि तोकेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।