मुग्लिन-नारायणगढ सडकखन्डको घुमाउनेमा सोमबार सुक्खा पहिरो खस्दा केही सवारी-साधन पुरिएका छन् भने दुईजनाको मृत्यु भएको छ ।
सुक्खा पहिरो खस्दा पुरिएर मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र भारतीय नागरिक विनयकुमार कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनबाट काठमाडौ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसँगै राना सवार थिए । मोटरसाइकल पुरिँदा उनका छोरा सन्दीप पनि घाइते भएका छन् ।
सोमबार बिहान १० बजेतिर सडक माथिबाट ठूलो पहरो झरेर एउटा जिप, ट्यांकर, ट्रक र दुईओटा मोटरसाइकल पुरिएको मुग्लिन प्रहरीले जनाएको छ ।
ठूल्ठूला चट्टानसहित खसेको पहिरोले गाडीहरु पुरेपछि सडक दिनभर अवरुद्ध बनेको थियो ।
मुग्लिनबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई साइड लगाएपछि अपराह्नदेखि बाटो एकतर्फी सन्चालन गरिएको छ । इमेजखबरमा समाचार छ ।