शिक्षा कार्यालय काठमाडौंले अधिकतम ३ हजार ६ सय रुपैयाँ शुल्क लिन पाउने गरी सीमा तोकेको छ । विद्यालयले लिने शुल्कको शीर्षकसमेत खुलाउनुपर्ने छ । भर्ना, मासिक, वार्षिक र वर्षभरि गरिने अन्य विविध कार्यक्रममा लाग्ने शुल्क मात्रै लिन पाइनेछ ।
त्यसका लागि विद्यालय वर्गीकरणसमेत गरेको जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले बताए । शुल्क अनुगमन समितिले तीन महिनाअघि काठमाडौंका आधारभूत र माध्यमिक तहका विद्यालयलाई चार श्रेणीमा वर्गीकरण गरी शुल्क सीमा निर्धारणको सिफारिस गरेको थियो । आचार्यका अनुसार कक्षा १ देखि ५ सम्मका घ वर्गले १ हजार १ सय ८१, ग ले १ हजार ५ सय ७५, ख ले १ हजार ९ सय ६९ र क ले बढीमा २ हजार ३ सय ६३ रुपैयाँ लिन पाउन छन् । आधारभूत तहकै कक्षा ६ देखि ८ कक्षाको घ वर्गले १ हजार ३ सय ५०, ग ले १ हजार ८ सय, ख ले २ हजार २ सय ५० र क ले बढीमा २ हजार ७ सय रुपैयाँसम्म लिन पाउने छन् । माध्यमिक तह ९ र १० कक्षासम्म सुचारु विद्यालय घ वर्गले १ हजार ८ सय ३८, ग ले २ हजार ४ सय ५०, ख ले ३ हजार ६३ र क ले बढीमा ३ हजार ६ सय ७५ रुपैयाँसम्म लिन पाउने छन् । यो शुल्क लिने विद्यालयले शिक्षकको तलब सरकारले तोकेसरह बैकमार्फत भुक्तानी गर्नुपर्छ ।
शैक्षिक सत्र ०७४ का लागि तोकेको अधिकतम शुल्क सीमाको सूचना विद्यालय निरीक्षकमार्फत सम्बन्धित सबै विद्यालयमा जानकारी दिइसकेका छौं, आचार्यले भने, उक्त सीमाभित्र रही शुल्क प्रस्ताव गर्न निर्देशन गरिसकेका छौं । कार्यालयमा पेस भई स्वीकृत शुल्कभन्दा बढी शुल्क लिएको पाइए नियमअनुसार कारबाही हुनेछ ।
काठमाडौंका संस्थागत विद्यालयले विद्यार्थी भर्ना गर्दा नोटिस बोर्ड, ब्रोसर र अन्य सूचना सामग्रीमा शिक्षा कार्यालयले तोकेको शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । विद्यालय परिसर वा विद्यालयले निश्चित स्थान तोकी पोसाक, स्टेसनरी तथा पुस्तक बिक्रीवितरण नगराउन कार्यालयको निर्देशन छ । पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक र थप पाठ्य सामग्री मात्र लागू गर्नु हुन अनुरोध छ, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । कान्तिपुरमा समाचार छ ।