सरकारले ल्याउन लागेको नयाँ संशोधन प्रस्तावलाई एमालेले समर्थन नगर्ने

नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह निर्वाचन र संविधानविपरीत एवं राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असरपर्ने कुनैपनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको पार्टीका प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि संसदमा प्रस्तुत् भएको संविधान संशोधन विधेयक फिर्ता लिइ प्रमुख प्रतिपक्षी एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमत हुने गरी नयाँ संशोधन प्रस्ताव प्रस्तुत् गर्ने सार्वजनिक अभिव्यक्ति दिएकामा एमाले बैठकले सरकारले भनेजस्तो आफ्नो पार्टीसँग कुनै सहमति नभएको स्पस्ट गरेको छ ।
बैठकले एमालेको काठमाडौं जिल्ला कमिटीमा उत्पन्न विवाद मिलाउन कावा अध्यक्ष गौतमको संयोजकत्वमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल रहेको कार्यदललाई जिम्मेवारी दिएको छ ।
स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न आउँदो वैशाख ३ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । रासस