सुनसरीकोे कोसी गाउँपालिका-५ को मलदैयाटोलमा बिहीबार आगोलागी हुँदा ४३ घर जलेर नस्ट भएका छन् ।
स्थानीय मनेरु मियाँको घरबाट सल्केको आगो बस्तीमा फैलिएपछि मुसलमान टोलका ४३ घर जलेर नस्ट भएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालको नेतृत्वमा करिब एक सय प्रहरी परिचालन गरिएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय पनि आगो नियन्त्रणमा लिन जुटेका थिए ।
समयमा दमकल आउन नसक्दा आगो नियन्त्रणमा समस्या भएको थियो । इनरुवा, विराटनगर र राजविराजबाट दमकल ल्याएर आगो नियन्त्रणमा लिइएको छ ।
दिउँसो १ बजे सल्केको आगो साँझ ५ बजेमात्र नियन्त्रणमा आएको थियो । आगोलागीबाट करिब ३ करोड रुपैयाँको धनमाल जलेर नस्ट भएको अनुमान गरिएको छ ।
खाना पकाउँदा बालेको आगो हावाले गाउँभरि फैलिएको बताइएको छ । इमेजखबरमा समाचार छ ।