पूर्वराजा शाहद्वारा नयाँ वर्ष २०७४ को शुभकामना सन्देश, राष्ट्रियता र सबल एकता खल्बलिने त्रास बढेको उल्लेख

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिक स्वतन्त्रता र प्रजातन्त्रमाथि खतरा देखिएको दाबी गरेका छन् ।  नयाँवर्ष २०७४ को पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राजनीतिक क्षेत्रप्रतिको भरोसा जनतामा टुट्दै गएकाले देशको राष्ट्रियता र सबल एकता खल्बलिने त्रास बढेको बताएका छन् ।
०६३ सालमा शान्ति र समृद्धिको आशासहित तत्कालीन संसद पुनःस्थापना गरेको उल्लेख गर्दै उनले तर राजनीतिक दलहरुले सहमतिअनुसार काम नगरेको आरोपसमेत लगाएका छन् ।
संसद पुनःस्थापनापछि सहमतिविपरीतका कामहरु हुँदै जाँदा पनि देशको समृद्धि र जनताको हितलाई ख्याल गर्दै हामीले मौनतापूर्वक साथ दिएका हौं- शुभकामना सन्देशमा भनिएको छ ।
तर, मुलुकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकबीचको शक्ति सन्तुलनसमेत बिगारिएको उल्लेख गर्दै पूर्वराजा शाहले विश्वामा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्मविपरीतका व्यवहार राजनीतिक तहबाट प्रकट भइरहेको आरोप पनि लगाएका छन् ।
हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय हो भन्ने वास्तविकतालाई आत्मसात गरी व्यवहार गर्न नसक्दा नेपाली-नेपालीबीच शंकाको वातावरण बढेको’ स्मरण गराउँदै सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत बनाउने अदृष्य चालबाजीले नेपालको प्रजातन्त्र र सार्वभौम स्वतन्त्रतामाथि आँच पुर्‍याउने खतरा बढेको’ जिकिर गरिएको छ ।
विगत ११ वर्षमा देशमा के-कस्ता घटना भए र देश कुन अवस्थामा पुग्यो ? भन्ने तथ्य जान्न पाउनु देश-विदेशमा रहेका हरेक नेपालीको अधिकार भएको पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् । इमेजखबरमा समाचार छ ।