
आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ७ करोड ४० लाख डलर विकास सहायता परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष ५ प्रतिशतले वृद्धि भइ करिब १ खर्ब ७ अर्ब रुपैयाँ बराबर विकास सहायता परिचालन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी गत वर्षको विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको हो ।
कुल परिचालित सहायतामध्ये ५० प्रतिशत अनुदान, ३५ प्रतिशत ऋण र १५ प्रतिशत प्राविधिक सहयोग रहेको जनाइएको छ ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले कुल परिचालन भएको वैदेशिक सहायतामध्ये ६३ प्रतिशत राष्ट्रिय बजेटमार्फत् परिचालन भएको बताए ।
अर्थसचिव शान्तराज सुवेदीले विकास साझेदारसँग परियोजनाअनुसार सम्झौता हुने निर्णय भएको हुँदा सम्झौताअनुसारको पैसा नआएको बताए ।
कुल सहायता परिचालनामा बहुपक्षीय र द्धिपक्षीय विकास साझेदारको योगदान क्रमशः ५८ र ४२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी सहायता परिचालन गर्ने बहुपक्षीय विकास साझेदारमा विश्व बैंक रहेको र द्धिपक्षीय विकास साझेदारमा अमेरिका रहेको जनाइएको छ ।
नेपाललाई सहायता उपलब्ध गराउने विकास साझेदारको संख्या ४० भन्दा बढी भएपनि पाँच बहुपक्षीय विकास साझेदारहरुले ५७ प्रतिशत र पाँच द्धिपक्षीय विकास साझेदारहरुको ३० दशमलव ५ प्रतिशत गरी कुल विकास सहायताको ८७ प्रतिशत बढी सहायता परिचालन गरेका अर्थ मन्त्रालयले जनाएको छ ।
अघिल्लो वर्ष सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा सहायता परिचालन भएकोमा यस वर्ष ऊर्जा क्षेत्रमा सबैभन्दा बढी खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
भूकम्पपछिको पुनःनिर्माणका आयोजना गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ बराबर सहयोग गर्ने घोषणा गरेकोमध्ये आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्म २ अर्ब ७१ करोड अमेरिकी डलरको सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।