ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङको अन्त्यकै कारण आर्थिक वृद्धिमा सुधार आएको दाबी गरेका छन् ।
चालु आर्थिक वर्ष सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि हुने बजेटमा प्रक्षेपण गरेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष प्रक्षेपित आर्थिक वृद्धि हुने देखिएको जनाएको छ ।
साथै, विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतले पनि ६ प्रतिशत हाराहारीसम्म आर्थिक वृद्धिदर पुग्ने अनुमान गरिसकेका छन् ।
ऊर्जा मन्त्रालयले सोमबार काठमाडौंमा गरेको नियमित विद्युत आपूर्तिको अर्थतन्त्रमा प्रभाव सम्बन्धी छलफलकाक्रममा मन्त्री शर्माले वर्तमान सरकारले ल्याएको उज्यालो नेपाल अभियानअन्तर्गतको लोडसेडिङ अन्त्यले अर्थतन्त्रमा ठूलो प्रभाव परेको दाबी गरेका हुन् ।
पछिल्ला दशक लोडसेडिङकै कारण उद्योग-व्यवसाय र सर्वसाधारको दैनिकी प्रभावित हुँदै आएको थियो ।
यो वर्ष नियमित विद्युत् आपूर्तिसँगै औद्योगिक वातावरणमा सुधार आइ साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने र उत्पादन लागत घट्न गइ मूल्यवृद्धिसमेत न्यून हुन जाने देखिएको मन्त्री शर्माले उल्लेख गरे ।
ऊर्जासंकट समाधान एक्लै दौडेर सम्भव नहुने सामूहिक म्याराथन दौड भएको भन्दै सबैको प्रयास आवश्यक रहेको पनि उनले उल्लेख गरे ।
सरकारकोे प्रत्यक्ष नेतृत्वमा आगामी ७ वर्षभित्र ठूला आयोजनाबाट ८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने उनले उल्लेख गरे ।
१० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पछि परिसकेको भन्दै निजी क्षेत्रसमेतको गरी १० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानबारे कार्यपत्र प्रस्तुत् गर्दै प्राधिकरण निर्माणाधीन आयोजनाहरुलाई तीव्रता दिएर उत्पादन बढाइ आयात घटाउँदै लाने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गरे ।
१०/१२ प्रतिशत विद्युत् आपूर्ति बढेपनि सस्तो बिजुलीमात्र ल्याइएकाले लागत वृद्धि नभएको पनि उनले बताए ।
सुरु नै नभएका र विभिन्न कारणले बन्द रहेका आयोजनाहरुलाई पूर्णरुपमा अगाडि बढाइएको उनले उल्लेख गरे ।
लोडसेडिङ अन्त्य अल्पकालीन कार्ययोजना भएपनि मागअनुसारको आपूर्ति र गुणस्तरीय सेवाका लागि थुप्रै गर्नुपर्ने भन्दै प्राधिकरण दीर्घकालीन योजनाका साथ अगाडि बढेको उनले उल्लेख गरे । इमेजखबरमा समाचार छ ।