
सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
ताल एकैपटक फुटेमा सप्तकोसी नदीमा साविकभन्दा पानीको सतह बढ्ने भएकाले सो क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको हो ।
सुनसरीका प्रममुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले ताल फुटेर कोसीमा एकाएक कुनैपनिबेला पानीको सतह बढ्नसक्ने पूर्वानुमान गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।
सप्तकोसी नदी क्षेत्रका बराहक्षेत्र, प्रकासपुर, महेन्द्रनगर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, श्रीपुरलगायतका स्थानमा उच्च सतर्कता अपनाउनका लागि सर्वसाधारणमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
नदीमा झन्डै २ दशमलव ५ किलोमिटरको ताल बनेकाले सो फुटेर सप्तकोसी नदीमासमेत ठूलो बाढी आउनसक्ने आशंका गर्दै कोसी आसपासका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन सुनसरी प्रशासनले आग्रह गरेको हो ।
समितिको बैठकले कोसीमा डुँगा सन्चालन गर्न रोक लगाउने, गाईवस्तु चराउन नजान अपिल गर्ने, माछा मार्न निषेध गर्ने, आसपासका क्षेत्रमा रहेका बस्तीलाई उच्च सतर्कताका साथ बस्न र सुरक्षा विकल्पका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको छ । रासस