स्थानीय निर्वाचन बैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा हुने

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मधेसी मोर्चाबीचको वार्ताले बैशाख ३१ गतेको लागि घोषित स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति गरेको छ ।
पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार सरकार र मोर्चाबीच जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको छ ।  दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन हुँनेछ । 
स्थानीय निकाय थप गर्ने बिषय भने उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा बनेको स्थानीय तह पुर्नर्संरचना अध्ययन समितिको प्रतिवेदनको आधारमा टुंगो लगाइने सहमति भएको छ । 
गृहमन्त्री बिमलेन्द्र निधीले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मोर्चासँगको सहमतिलाई अघि बढाउने प्रतिक्रिया दिए ।
भोलिको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन परिमार्जनसहित फास्ट ट्र्याकबाट पारित गर्ने बिषयमा निर्णय लिन्छ, उनले भने, लगत्तै मोर्चा नेताहरुसँग बसेर सहमतिमा हस्ताक्षर गर्ने तयारी छ । 
आज सरकार र मोर्चाबीच भएका सहमति बुँदा:-
बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने । 
बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने । 
सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।
कान्तिपुरमा समाचार छ ।