पहिलो चरणमा निर्वाचन हुने २ सय ८३ गाउँपालिका र नगरपालिकाका लागि मंगलबार शान्तिपूणं ढंगले उम्मेदवारी दर्ता भएको छ । निर्वाचनलाई लिएर कायम विभिन्न खाले संशयलाई चिर्दै २० वर्षपछि स्थानीय निर्वाचनको प्रक्रियामा मुलुक प्रवेश गरेको छ ।
बैशाख-३१ मा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका स्थानीय तहहरुको पहिलो चरणमा निर्वाचन हुँदैछ । बाँकी १, २, ५ र ७ प्रदेशका ४ सय ६१ स्थानीय तहको निर्वाचन दोस्रो चरणमा जेठ ३१ गते तोकिएको छ ।
५/५ वर्षमा हुनुपर्ने स्थानीय निर्वाचन ०५४ सालको जेठमा भएयता हुन सकेको छैन । त्यतिखेर निर्वाचित जनप्रतिनिधीको ५ वर्षे पदावधि ०५९ सालको असारमा सकिएयता कर्मचारीको भरमा स्थानीय निकाय सञ्चालन हुँदै आएको छ । धेरैपछि जनता नजिकको सरकार जनप्रतिनिधीको हातमा आउने भएपछि आम मानिसहरु उत्साहित देखिएका छन् ।
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने भनिएका स्थानहरुमा उत्साहजन ढंगले उम्मेदवारी दर्ता भएको जनाएको छ । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारहरु ५ बज्नै लाग्दासम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेकाले दर्ताको प्रक्रिया रातिसम्म भएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयनमा सबैतिर शान्तिपूर्ण र उत्साहजनक सहभागिता रहेको बताए । मतदाता र उम्मेदवारमा विशेष उत्साह देखिएको छ । चुनावी कार्यक्रमले पर्वकै जस्तो रौनकता बनाएको छ । सबैतिर शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनय दर्ता भएको रिपोर्टिङ आएको छ, उनले भने उम्मेदवारी मनोनयनसँगै निर्वाचनलाई लिएर कायम विभिन्न शंका, उपशंका, हल्ला र द्विविधाहरु हटेर गएको छ ।
राजनीतिक रुपमा मधेसी मोर्चा र नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चुनावका लागि चुनौतिपूर्ण मानिएको थियो । मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले निर्वाचनमा सहभागी हुँदै ठाउँ ठाउँमा उम्मेदवारी दर्ता गराएको छ । दलगत चिन्ह नपाए चुनाव हुन नदिने चेतवानी दिंदै आएको नयाँ शक्ति पार्टीले फोरमसँगै सहकार्य गरेर उसकै चिन्हमा चुनाव लड्ने भएपछि उक्त चुनौतिपनि टरेको छ ।
मोर्चामा आवद्ध ६ मधेसवादी दल एकीकिृत भएर बनेको राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने आफ्नो अडानमा कायम रहेको छ । उसले कतै उम्मेदवारी दर्ता गराएको छैन । तर, उसले संशोधन प्रत्रिया अगाडि बढेकाले निर्वाचन कार्यक्रमलाई बिथोल्ने वा बाधा पुग्ने गरी कुनै कार्यक्रम नगरिदिएर उम्मेदवारी दर्तालाई सघाएको छ । निर्वाचन बहिष्कार गरेको चन्द नेतृत्वको पार्टीबाट पनि कतै बाधा अवरोध पुर्याइएको छैन ।
गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सबैतिर शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ताको काम भएको बताए । प्रहरीले रुकुम, दैलेक र जुम्लाबाट विप्लव समूहका ३३ कार्यकर्तालाई पक्राउ गरेको छ । निर्वाचन बिरोधी गतिविधीमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता पन्थीले बताए । निर्भिक र उत्साहपूर्ण ढंगले राति अबेरसम्म उम्मेदवारी मनोनयनको काम भएको उनले जानकारी दिए । काँही कतै बाधा अवरोध भएको छैन, उनले भने चुनाव बिरोधी केही प्रयासलाई सुरक्षा निकायले बेलैमा निस्तेज पार्न सफल भएको छ । कान्तिपुरमा समाचार छ ।