कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरपालिकामा तालमेल गर्ने सहमति भएसँगै चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् ।
सहमतिअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई मेयर छाड्ने सहमति कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाट गरिएसँगै कार्यकर्ता नाराबाजी गर्दै जिल्ला पार्टी कार्यालयमा जम्मा भएका छन् । उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरिरहेका छन् । चुनावी प्रचार प्रसारमा हिँडेका कार्यकर्ता समेत केन्द्रीय पार्टी कार्यालयले गलत निर्णय गरेको भन्दै सभापति देउवाविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।
माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी प्रधानन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा छाड्ने निर्णय गरिएको हो । कांग्रेसबाट पार्टीका महासमिति सदस्य रहेका दिनेश कोइराला मेयरको उम्मेद्वार बनेर चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
भरतपुर महानगरपालिका कांग्रेस बलियो भएका कारण तालमेल गर्न जरुरी नरहेको कांग्रेस सांसद रामकृष्ण घिमिरेले बताए । बिहीबार बिहान कांग्रेसले उम्मेद्वारको जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उपसभापति कैलाश कोइरालाले माओवादी र कांग्रेसबीच तालमेल हुने कुरा गलत भएको र त्यसको पछि नलाग्न सबै कार्यकर्तालाई आग्रह गरेका थिए । नसोचेको निर्णय केन्द्रीय पार्टी कार्यालयबाट भएको भन्दै कार्यकर्ता निराश बनेका छन् । कान्तिपुरमा समाचार छ ।