बुटवल । रुपन्देहीको सालझण्डीमा एक युवकको निर्ममतापूर्वक हत्या भएको छ । टेन्सबर्ग बियरको फ्याक्ट्रीको माकेर्टिङ गर्दै आएका गुल्मी बलेटक्सार घर भएका २५ बर्षीय दामोदर केसीको हत्या भएको हो ।
हत्यापछि जंगलमा रैनीको रुखमा झुन्ड्याइएको अबस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । केसीको मुखमा उनले नै लगाएको गन्जी कोचिएको र हात खुट्टा डोरीले बाधेर झुण्ड्यनएको अवस्थामा रुपन्देहीको सालझण्डी ११ उत्तरबगौली जंगलमा उनको शव भेटिएको हो ।
उनी आइतबार टेन्सबर्गमा ड्युटी सकेर घर नर्फकेपछि केसीका दिदी भिनाजूले प्रहरीलाई खबर गरेका थिए । केसी आफ्ना दिदी भिनाजूसँग बुटवल १२ ढवाहामा बस्दै आएका थिए ।
केसीको शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए । रासस