उदयपुरमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु

उदयपुरको विभिन्न स्थानमा मंगलबार (आज) परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका-५ जाँतेकी १२ वर्षीया तुलसा विक, कटारी नगरपालिका-११ हर्देनीका ४५ वर्षीय भेषबहादुर खत्री र सोही ठाउँका ५५ वर्षीय बलबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको हो ।
तीनै जनाको आ-आफ्नै घरमा बसिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए ।
चट्याङ लागेर गम्भीर घाइते भएकी कटारी-११ हर्देनीकी ३३ वर्षीया कल्पना बस्नेतको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस