राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने: कांग्रेस

नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने बताएको छ । 
जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनबारे सानेपामा कांग्रेस र राजपा नेताहरुबीचको छलफलमा यस्तो प्रस्ताव राखिएको हो । कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले राजपा सहभागी भए ऐन संशोधन र निर्वाचन मिति सार्न सकिने बताएको जानकारी दिए । राजपाको मागहरुबारे बैठकमा छलफल भएपछि बहुमत नपुग्ने भएकोले तत्काल संविधान संशोधन भने हुन नसक्ने प्रस्ट पारिएको छ । उनका अनुसार आजै साँझ प्रमुख प्रतिपक्षी लगायतको बैठक बसेर राजपाको मागबारे फेरि सहमतिको प्रयास गरिने छ । 
राजपा नेताहरुले चुनावमा भाग लिने वातावरण बनाइ दिन आग्रह गरेका छन् । बैठकपछि रापपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले चुनावमा सहभागी हुन संविधान संशोधन विधेयक पारित, आफ्ना नेता, कार्यकर्तामाथिको मुद्दा फिर्ता, तराईमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने लगायत कुरा राखेको जानकारी दिए । उनका अनुसार यसबारे कांग्रेस नेताहरुले प्रतिपक्षी र सत्तापक्ष दलहरुसँग छलफल गर्ने बताएका थिए । संविधान संशोधन लगायतका माग पूरा नगरेको भन्दै राजपा नेतृत्वको संघीय गठबन्धनले शुक्रबार निर्वाचन बिथोल्न ढंगको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।  
महतोले अहिलेसम्म कुरा नमिलेको बताए । उनले संविधान संशोधन, स्थानीय तह संख्या थप जस्ता माग पूरा नभए दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दोहोर्‍याए । 
मधेसकेन्द्रित दलहरुको माग सम्बोधनकै लागि सरकारले गत सोमबार तराईका विभिन्न जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो । तर, शुक्रबार सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्‍यो । पहिलेकै स्थानीय तहको संख्या कायम राख्न सर्वोच्च अदालतले दिएको आदेशबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महतोले भने, त्यो सर्वोच्च हामीलाई थाहा छैन, संख्या बढाउनुपर्‍यो । कसरी बढाउने सरकारले जानोस् । कहिले कानुनले रोक्ने, कहिले सरकारले रोक्ने । जसरी पनि थप्नुपर्‍यो । कान्तिपुरमा समाचार छ ।