धादिङ बस दुर्घटनामा मृतकको संख्या ४, संख्या बढ्न सक्ने

धादिङको पुछारबजार-सल्यानटार सडकखण्ड अन्तर्गत निलकण्ठ-१० गोलाभन्ज्याङको भकारेमा स्कुल बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तर स्कुल बसले विद्यार्थी नबोकेर यात्रु बोकको थियो । गोला भन्ज्याङबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको बोर्डिङ स्कूलको ग १ ख ३४०५ नम्बरको बस भकारेमा दुर्घटनामा परेको हो । 
बस सडकबाट करिब डेढसय फिट तल खसेको छ । सदरमुकामबाट घटनास्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समयमा नपुगेका कारण स्थानीयले उद्दार गरेका थिए । उद्दारमा संलग्न युवक कुबेर धरेलका अनुसार १३ जना घाइतेको उद्दार गरिएको छ । 
सदरमुकामदेखी ४ बजे छुटेको उक्त रुटमा चल्ने यात्रुवाहक बस १७ किमी टाढाको भकारेमा बिग्रेर थन्केको कारण अलपत्र यात्रुलाई गन्तव्यमा पुर्‍याउन गाडी मालिकले खहरे बजारस्थित बोर्डिङ्गमा रहेको १८ वर्ष परानो गाडी मगाएका थिए ।  बिग्रेको बसबाट सबै यात्रु स्कुल बसमा राखेर छतमा सामान बाँध्ने क्रममा रोकेर राखेको बस ओरालोमा गुडेर दुर्घटना भएको बताइएको छ । 
सदरमुकाम देखि १७ किमी मात्रै टाढा रहेको उक्त बस ६ बजे  दुर्घटना भए पनि घटनाका घाइतेलाई एम्बुलेन्सको अभावमा साढे ८ बजेसम्म अस्पताल ल्याउन सकिएको थिएन । जिल्ला  प्रहरी नायव उपरिक्षक दिपेन्द्रसिंह पंन्जियारका  अनुसार १७ जना घाईतेलाई जिल्ला अस्पताल ल्याई गम्भीर घाईते ८ जनालाई थप उपचारका लागी काठमाडौं पठाइएको छ । र उनले ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा त्रिपुरासुन्दरी-७ निवासी ६२ वर्षीय पुणदेवी पाण्डे बाहेक अरुको सनाखत हुन सकेको छैन ।
जिल्लामा आइतवार एउटा पनि एम्बुलेन्स नभएपछि घाइतेलाई ओसार्न र काठमाडौं लैजान कठिनाई भएको थियो । जिल्ला अस्पतालले राजमार्गका ८ वटा एम्बुलेन्स बोलाएको छ । कान्तिपुरमा समाचार छ ।