भरतपुर महानगरपालिकामा माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरे, गणना रोकियो

भरतपुर महानगरपालिकाको जारी मतगणना क्रममा अहिले मध्यरात माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरेका छन्। 

मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएका हुन्। गणनास्थलमा सहभागी माओवादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका प्रतिनिधिले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार मतपत्र च्यात्ने केही माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मतपत्र च्यात्नुअघिसम्मको परिणाअनुसार दाहाल र ज्ञवालीको मतान्तर ७ सय ३३ पुगेको थियो। 
आइतबार साँझसम्म २७ वडाको मतगणना सकिँदा उनीहरुको मतान्तर ७ सय ८४ थियो भने अहिले मतान्तर अलिकति घटेको हो।ज्ञवालीले ४१ हजार ६ सय ४१ मत ल्याएका छन् भने दाहालले ४० हजार ९ सय ८ मत ल्याएका छन्। साँझदेखि १९ नम्बर वडाको मतगणना थालिएको थियो। हालसम्म १९ वडाको १८०९ मत गणना भएको छ। उपप्रमुखमा भने कांग्रेसका उम्मेद्वार अघि छन्। कांग्रेस उम्मेद्वारले ४४ हजार ९ सय ३५ र एमाले उम्मेद्वारले ३८ हजार ८ सय ५२ मत ल्याएका छन्। 
भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसले आफ्नो पूर्वघोषित उम्मेदवारको मनोयन फिर्ता लिन लगाएर माओवादीकी रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरेको थियो। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। उनको चुनावी अभियानका क्रममा आयोजित सभामा दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सम्बोधन गरेका थिए। सेतोपाटीमा समाचार छ ।