संसदमा जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाप्रति विपक्षी एमालेको कडा असहमति

प्रमुख विपक्षी एमालेले संसदमा जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाप्रति कडा असहमति जनाएको छ । उसले सांसदलाई थाहा नै नदिई प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरवारमा बसेको स्थायी कमिटी बैठकले संसद अबरुद्ध भएको अवस्थामा निर्वाचन हुन नसक्ने निर्णय गरेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । यो संसदको विषय बन्नुपर्छ, अहिलेसम्म यो संसद बाहिरको विषय बनेको छ, विश्वकर्माले कान्तिपुरसित भने, सूचना टाँसेर प्रधानमन्त्रीको चुनाव हुन सक्दैन, यसले गलत नजिर बस्छ ।
भरतपुरमा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मतगणना सुचारु गर्न माग गर्दै एमालेले संसद अबरोध गरिरहेको छ । संसद अबरोध भइरहेकाबेला सूचना टाँस गरेर संसद सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गरिसकेका छन् ।
विश्वकर्माले प्रतिपक्षीले संसद अबरोध गरिरहेकाबेला नियमापत्तिसमेत स्वीकार नभएको अवस्थामा सभामुखले प्रक्रिया सुरु गर्न कसरी अनुमति दिइन् भन्ने गम्भीर चासोको विषय भएको बताए । यो ज्यादै गम्भीर छ, उनले भने, संविधान कानुन नियम र स्थापित परम्पराका विरुद्ध छ ।
निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण
नेता विश्वकर्माले भरतपुर महानगरपालिका-१९ मा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
स्थायी कमिटी बैठकपछि निर्वाचन आयोगको निर्णय आएकाले एमालेले औपचारिक धारणा भने सार्वजनिक गर्न बाँकी छ ।
आयोगको निर्णयले लोकतन्त्रको मेरुदण्डकोरुपमा निर्वाचन र आयोगको विश्वास कमजोर भएको विश्वकर्माको टिप्पणी छ । ‘यसले ज्यादै दूरगामी असर र प्रभाव पार्ने देखिन्छ,’ उनले भने । कान्तिपुरमा समाचार छ ।