सन्धिखर्क, अर्घाखाँची । पहिलो चरणको स्थानीय निर्वाचनमा तालमेलको परिणाम राम्रो नआएपछि अर्घाखाँचीका सबै दल एकल प्यानल बनाएर निर्वाचनमा जाने भएका छन् । केन्द्रमा तालमेल भए पनि स्थानीय तहमा उल्टो प्रभाव देखिएपछि प्रमुख दल एकल प्यानल बनाएर निर्वाचनमा जान लागेका हुन् ।
उम्मेदवारी घोषणासँगै अधिकांश उम्मेदवार टोल-टोलमा चुनावी ऐजेन्डा लिएर प्रचारप्रसार गर्न थालेका छन् । घर-आँगनमै नेता-कार्यकर्ताको उपस्थितिले मतदाता पनि उत्साहित भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नभएकाले नेतृत्वमा युवादेखि पूर्वजनप्रतिनिधिसमेतले उम्मेदवारी दिएका छन् ।
चुनावको मिति पटक-पटक सर्ने कारण उम्मेदवारलाई कार्यतालिका बनाउन गाह्रो भएको छ । खेतीपाती गर्ने मौसम भएका कारण अपेक्षा गरेअनुरूप प्रचारप्रसारमा मतदाताको उपस्थिति नभएको उम्मेदवारहरूले जनाएका छन् ।
मुख्य तीन दल नै प्रतिस्पर्धी
अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने स्थानीयको भनाइ छ । तर, कुनैकुनै तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति पनि राम्रो रहेको उनीहरूको भनाइ छ । स्थानीय निर्वाचनमा पूर्वजनप्रतिनिधि र युवा अनुहारले टिकट पाएपछि उनीहरूको चर्चा बढेको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट कुल १ लाख २६ हजार ६ सय ९९ मतदाताले निर्वाचनमा भाग लिनेछन् । जसमा पुरुष मतदाताको संख्या ६० हजार २ सय ९२ र महिला मतदाता ६६ हजार ४ सय ३ जना रहेका छन् । यसरी जिल्लामा सबै गाउँपालिकामा महिला मतदाताको संख्या बढिरहेको छ । जिल्लाभर पुरुष मतदाताभन्दा ५ हजार ७ सय ११ जना महिला मतदाताको संख्या बढी छ ।
अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने स्थानीयको भनाइ छ । तर, कुनैकुनै तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति पनि राम्रो रहेको उनीहरूको भनाइ छ । स्थानीय निर्वाचनमा पूर्वजनप्रतिनिधि र युवा अनुहारले टिकट पाएपछि उनीहरूको चर्चा बढेको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट कुल १ लाख २६ हजार ६ सय ९९ मतदाताले निर्वाचनमा भाग लिनेछन् । जसमा पुरुष मतदाताको संख्या ६० हजार २ सय ९२ र महिला मतदाता ६६ हजार ४ सय ३ जना रहेका छन् । यसरी जिल्लामा सबै गाउँपालिकामा महिला मतदाताको संख्या बढिरहेको छ । जिल्लाभर पुरुष मतदाताभन्दा ५ हजार ७ सय ११ जना महिला मतदाताको संख्या बढी छ ।
गाउँपालिकामा यस्तो छ दलहरुको तयारी
मालारानी गाउँपालिका
यस गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा विष्णु क्षेत्रीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा शान्ता खनाल चुनावी मैदानमा छिन् । एमालेबाट अध्यक्षमा बालकृष्ण आचार्य र उपाध्यक्षमा प्रमिला क्षेत्री चुनावी मैदानमा उत्रिएका छन् । माओवादी केन्द्रबाट अध्यक्षमा पदम क्षेत्री र उपाध्यक्षको पद खाली राखिएको छ । मालारानी गाउँपालिकाका केही वडामा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ । ४ वडामा कांग्रेस र ५ वडा माओवादी केन्द्रले पाउने गरी तालमेल गरेको प्रेस सेन्टर अर्घाखाँचीका अध्यक्ष गणेश खनालले बताए । यस गाउँपालिकामा १८ हजार ६ सय ८७ मतदाता छन्, जसमा ८ हजार ८ सय ५५ पुरुष र ९ हजार ८ सय ३२ महिला छन् ।
पाणिनि गाउँपालिका
पाणिनि गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा अम्बिका पोख्रेलले उम्मेदवारी दिएका छन् । एमालेबाट अध्यक्षमा जीवनारायण कोइराला र उपाध्यक्षमा लक्ष्मी गौतम, माओवादी केन्द्रबाट अध्यक्षमा जाकिर हुसेन र उपाध्यक्षमा विमला घिमिरे उठ्ने भएका छन् । यस गाउँपालिकामा कुल १८ हजार ३ सय ८ मतदाता छन्, जसमा ८ हजार ७ सय ६५ पुरुष र ९ हजार ५ सय ४३ महिला मतदाता छन् ।
छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेल र उपाध्यक्षमा तुल्सादेवी श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । एमालेबाट अध्यक्षमा ऋषिराम अधिकारीको मात्रै नाम सार्वजनिक भएको छ । यस गाउँपालिकामा १८ हजार ७ सय ६० मतदाता छन् । जसमा ८ हजार ८ सय ३० पुरुष मतदाता छन् भने ९ हजार ९ सय ३० महिला मतदाता छन् । छत्रदेव गाउँपालिकामा ८ मतदान स्थल तय गरिएको छ ।
नगरपालिकामा यस्तो छ तयारी
भूमिकास्थान नगरपालिका
यस नगरपालिकामा कांग्रेसबाट प्रमुखमा खडानन्द बेल्बासे र उपप्रमुखमा सिर्जना थापा उम्मेदवार बनेका छन् । एमालेले प्रमुखमा पीताम्बर भुसाल र उपप्रमुखमा सुनिता बेलबासेलाई उम्मेदवार बनाएको छ । भुसाल जिविस पूर्वसभापति पनि हुन् ।
माओवादी केन्द्रबाट प्रमुखमा रेशम थापा र उपप्रमुखमा छमकुमारी थापा उम्मेदवार भएका छन् । राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा कविराम खनाल र उपप्रमुखमा शकुन्तला थापाले उम्मेदवारी दिएका छन् । यस नगरपालिकामा २१ हजार १ सय १६ मतदाता छन्, जसमा पुरुष ९ हजार ८ सय ८४ र महिला ११ हजार २ सय ३२ छन् ।
सन्धिखर्क नगरपालिका
अर्घाखाँचीमा जनसंख्याका हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुखमा कमलप्रसाद भुसालले टिकट पाएका छन् । उपप्रमुखमा भने उम्मेदवार घोषणा गरेको छैन ।
एमालेबाट प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुखमा ईश्वरा पोख्रेल वा शम्भु पोख्रेलको नाम चर्चामा छ । तालमेलको सम्भावनाअनुसार एमालेले उपप्रमुखमा दुईजनालाई अगाडि सारेको हो । माओवादी केन्द्रबाट प्रमुखमा ठाकुर कुमार विक, उपप्रमुखमा कमला भुसाललाई अगाडि सारिएको छ । राष्ट्रिय जनमोर्चाले प्रमुखमा कल्पना पोख्रेल र उपप्रमुखमा पशुपति ढकाललाई अगाडि सारेको छ । नयाँ शक्ति पार्टीले प्रमुखमा यमुना भुसाललाई उम्मेदवार बनाएको छ । यस नगरपालिकामा २४ हजार ६ सय ४२ मतदाता छन्, जसमा पुरुष मतदाता ११ हजार ५ सय ४५ र १३ हजार ९७ महिला मतदाता छन् ।
शीतगंगा नगरपालिका
शीतगंगा नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा सूर्य अधिकारी र उपप्रमुखमा मीना पौडेलले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले प्रमुखमा टीका रेग्मी र उपप्रमुखमा सीता अधिकारीलाई अगाडि सारेको छ ।
यो नगरपालिका सातवटा साविकका गाविस मिलेर बनेको छ । यस नगरपालिकामा २५ हजार १ सय ४२ मतदाता छन्, जसमा पुरुष मतदाता १२ हजार ४ सय १४ र १२ हजार ७ सय ८७ महिला मतदाता छन् ।