झापामा ढिलो गरी चुनावी सरगर्मी एकाएक सुरु

एमाले र कांग्रेसका दुई शीर्ष नेताको गृहजिल्ला झापामा ढिलो गरी चुनावी सरगर्मी सुरु भएको छ । उम्मेदवारका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा दलहरू प्रचार अभियानमा जुट्न सकिरहेका थिएनन् ।
प्रमुख प्रतिपक्षी एमालेले सहरकेन्द्रित दुई नगरपालिकामा एकैसाथ उम्मेदवार टुंगो लगाएपछि झापाको चुनावी माहोल एकाएक बढेको हो । एमालेले बिर्तामोड र मेचीनगरमा बिहीबार मात्रै प्रमुख र उप्रप्रमुखको टुंगो लगाएको छ ।
मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरमा छ आकांक्षीबीचबाट एमालेले नगरपालिका प्रमुखमा ध्रुवकुमार सिवाकोटीलाई उम्मेदवार चयन गरेको छ । सिवाकोटी तत्कालीन अनारमनी गाविस अध्यक्ष हुन् । त्यसैगरी उपप्रमुखमा जिल्ला कमिटी सदस्य पवित्रा महतरा प्रसाईलाई उठाउने भएको हो ।
झापामा सर्वाधिक चासोको बिर्तामोड नगरपालिकामा यसअघि कांग्रेसले सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिक जलकुमार गुरुङलाई प्रमुखको उम्मेदवार बनाएको थियो । झापा जिल्ला फुटबल संघका अध्यक्ष गुरुङ सामाजिक गतिविधिमा सक्रिय छन् । उपप्रमुखमा पार्वता गिरी कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएकी हुन् ।
माओवादी केन्द्रबाट बिर्तामोड नगर प्रमुखमा युवा नेता सीपी कडरिया उम्मेदवार बनेका छन् । केन्द्रले लक्ष्मी न्यौपाने ‘सरू’ लाई उपप्रमुख उम्मेदवार तोकेको छ । राप्रपाका तर्फबाट भक्ति सिटौला प्रमुखका उम्मेदवार छन् । सिटौला संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए । उपप्रमुखमा सञ्चारकर्मी लीला अनमोल चुनावी मैदानमा छिन् ।
पार्टीभित्र उम्मेदवार आकांक्षी धेरै भएका कारण एकैपटक टुंगो लाग्न नसक्दा चुनावी माहोल तात्न नसकिरहेका बेला एमालेले मेचीनगरमा उम्मेदवार छानेको छ । एमाले नेता विष्णु प्रसाई प्रमुखका उम्मेदवार बनाइएका छन् । उनी तत्कालीन जिविस उपसभापति हुन् । उपप्रमुखमा मीना पोखरेल उप्रेती उम्मेदवार बनाइएकी छन् ।
मेचीनगरमा कांग्रेसका तर्फबाट व्यवसायी विमल आचार्य प्रमुखका लागि चुनावी मैदानमा उत्रिएका छन् । उनी महासमिति सदस्य पनि हुन् । उपप्रमुखमा दुर्गा खतिवडा उठाइएकी छन् । माओवादी केन्द्रबाट प्रमुखमा हंसलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की उम्मेदवार बनाइएका छन् । राप्रपाबाट प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सबिना बजगाई छन् ।
एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा भने चुनावी माहोल हेर्नलायक छ । त्यहाँ कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेसबाट प्रमुखमा ढुण्डीराज भण्डारी र उपप्रमुखमा रेगिना भट्टराई उम्मेदवार बनाइएका छन् । एमालेले भने रोमनाथ ओलीलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा गीता अधिकारीलाई निश्चित गरिएको छ । ओली यसअघि पनि दमक नगरका प्रमुख थिए । माओवादी केन्द्रबाट रेवतराज पुरी प्रमुखका दाबेदार छन् भने शान्ति धिमाललाई उपप्रमुखमा उठाइने भएको छ । राप्रपाबाट राम थापा प्रमुखका उम्मेदवार छन् । उपप्रमुखमा रीता बस्नेत श्रेष्ठ चुनावी मैदानमा उत्रिएकी छन् ।
आठ नगर र सात गाउँपालिकासहित १५ स्थानीय तह रहेको झापामा ५ लाख १० हजार २ सय १६ मतदाता छन् । त्यसमा मेची नगरपालिकामा मतदाताको संख्या सबैभन्दा बढी छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मेचीनगरमा ७२ हजार ७ सय ९४ मतदाता छन् । सबैभन्दा कम मतदाता भएको हल्दीबारी गाउँपालिका हो । त्यहाँ १८ हजार ८ सय ९२ मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले जानकारी दिए । मतदाता शिक्षाका लागि झापाबाट ६ सय ३७ कर्मचारी खटिएका छन् ।
निर्वाचन कार्यालयका अनुसार दुई सय ८३ मतदानस्थल रहेको झापामा ६ सय ३७ मतदान केन्द्र छन् । उम्मेदवारी घोषणासँगै परिणाम आफ्नो पक्षमा ल्याउन सबै राजनीतिक दलले रणनीति बनाउन सुरु गरेका छन् । जिल्लास्थित प्रमुख दलहरू मतदातालाई आफूतर्फ आकर्षण गर्दै आफ्नो पक्षमा पार्ने पूर्वतयारीमा लागेका हुन् । इमेजखबरमा समाचार छ ।