आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले रुपन्देहीमा उम्मेदवारहरुको नाम सार्वजनिक गरेका छन् ।
संयुक्तरुपमा चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ शक्तिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी स्थानीय तहका प्रमुख र उपप्रमुखका नाम सार्वजनिक गरेका हुन् ।
फोरम-नयाँ शक्तिले जिल्लाका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् भने १४ ओटा स्थानीय तहमा आफ्नै दलका उम्मेदवारहरुलाई टिकट दिएका छन् ।
मसाल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका फोरम-नयाँ शक्ति गठबन्धनले रुपन्देहीको सदरमुकाम भैरहवाको प्रमुखमा अर्जुन जयसवाल र उपप्रमुखमा मीना विश्वकर्मालाई टिकट दिइएको छ ।
यस्तै, बुटवल उपमहानगरपालिकामा स्वन्तन्त्र उम्मेदवार होमबहादुर गलामीलाई र सैनामैना नगरपालिकामा स्वतन्त्र उम्मेदवार शारदा घिमिरेलाई समर्थन गर्ने दुबै दलले जनाएका छन् ।
तिलोत्तमा नगरपालिकाको प्रमुखमा ज्ञान भुर्तेल, उपप्रमुखमा जयन्ती भण्डारी र देवदह नगरपालिकाको प्रमुखमा पार्वती मरासिनी र उपप्रमुखमा तेजलाल डुम्रेलाई उम्मेदवार बनाइएको छ । इमेजखबरमा समाचार छ ।