दोस्रो चरणअन्तर्गत् यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन चिह्न प्रदान गरिएको छ ।
राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई मंगलबार निर्वाचन चिह्न प्रदान गरेको हो ।
निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारलाई निर्वाचनको प्रचार-प्रसारका लागि बाटो खुलेको छ ।
निर्वाचन चिह्न प्राप्त भएलगत्तै उम्मेदवार नमुना मतपत्रसहित मतदाताको घर-आँगनमा पुगेर मत माग्ने कार्यमा सरिक भइसकेका छन् ।
प्रदेश नम्बर-१, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा हुने निर्वाचनका लागि गत आइतबार ६२ हजार ९२६ जनाले उम्मेदवारी दिएको विवरण आयोगलाई प्राप्त भएको बुझिएको छ ।
व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई पार्टीको आधिकारिक चिह्न तथा अन्य दल र स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र निर्वाचन चिह्न प्रदान गर्ने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् भने ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । रासस