मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने, रोपाइँ सुरु हुन सकेन

मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने भएको छ ।
मनसुन सक्रिय नहुँदा मुलुकका अधिकांश भागमा अझै धान रोपाइँ सुरु हुन सकेको छैन ।
सामान्यतः यतिबेला रोपाइँ सुरु भइसक्नुपर्ने हो । तर, पर्याप्त वर्षाको अभावमा मुलुकका अधिकांश ठाउँमा रोपाइँ सुरु हुन सकिरहेको छैन ।
नेपालका अधिकांश भू-भागमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । त्यसैले यो समयमा किसानहरुले वर्षाको प्रतिक्षा गर्छन् ।
मनसुन सक्रिय नहुँदा मुलुकका अधिकांश भागमा तापक्रम पनि उच्च बनेको छ । जसका कारण कतिपय ठाउँमा जनजीवनसमेत प्रभावित भएको छ ।
पूर्वीय जलवायु क्रमशः पश्चिमतिर प्रवेश गरिरहेको र पश्चिमी वायुको प्रभावले मनसुन सक्रिय हुन अझै केही समय लाग्ने मौसमविद् बरुण पौडेल बताउँछन् ।
सामान्तः असार १५ सम्म ५० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सकिसक्नुपर्ने हो । तर, मनसुन सक्रिय नहुँदा यो वर्ष असार १५ सम्ममा ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ नसकिने अवस्था बनेको र यसले धान उत्पादनमा प्रभाव पर्नसक्ने बताउँछन्, धानवालीविज्ञ भोलामानसिंह बस्नेत । इमेजखबरमा समाचार छ ।