असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक अलग्गै छ ।
रौनक थप्ने काम भने निर्वाचन बहिष्कार गरेको भनिएको राष्ट्रिय जनता पार्टीका स्थानीय नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएकाले गरेको हो । इमेजखबरमा समाचार छ ।
राजपाका स्थानीय नेताको चुनावमा सहभागिताले बाँकी उम्मेदवार र मतदातामासमेत उत्साह जगाएको छ ।
संविधान संशोधनको आफ्नो मुद्दा सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचनमा पनि भाग नलिने अड्डी राष्ट्रिय जनता पार्टी राजपाका केन्द्रीय नेताहरुले छाडेनन् ।
राजपाका शीर्ष नेताहरुसँग पटक पटक छलफलपछि सरकारले दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गतेका लागि सार्यो । धेरैलाई विश्वास थियो कि अब राजपा असार १४ को चुनावमा जाला ।
तर भैदियो उल्टो शीर्ष नेताहरुले चुनावमा नजाने अडान तेस्र्याए । तर सरकार १४ असारको चुनाव सार्ने पक्षमा थिएन ।
नेताहरुका आ-आफ्नै राजनीतिक र व्यक्तिगत स्वार्थहरु थिए होलान् तर तराई-मधेसका जनता स्थानीय चुनाव बहिष्कार गर्ने पक्षमा थिएनन् ।
यस्तोमा कपिलवस्तुमा भने राजपाका स्थानीय नेतृत्व शीर्ष नेताको अडानलाई अवज्ञा गर्दै निर्वाचनमा जाने निर्णयमा पुगे र उम्मेदवारी मनोनयनमा सहभागि भए ।
कपिलवस्तु राजपाको राम्रै पकड भएको जिल्लाका रुपमा पनि मानिन्छ ।
बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन नै बहिष्कार गर्नु भनेको प्रजातान्त्रिक पद्धती र बहुदलीय प्रतिस्पर्धा स्वीकार्ने दलका लागि आत्मघातसरह बन्दछ ।
एक पटक जनतासँगको सम्बन्ध टुट्यो भने त्यो जोड्न कति कठीन हुन्छ त्यो कपिलवस्तुका राजपा नेताले सायद बुझे । त्यसैले त उनीहरु बेफिक्री चुनाव प्रचारमा जनताको घरदैलोमा पुगेका छन् ।
राजपा नेताहरु चुनावमा आउँदा जिल्लाका अरु दलका स्थानीय नेता कार्यकर्ता पनि प्रतिष्पर्धाकै बीचमा निकै खुशी देखिएका छन् । जुन रौनक र उत्साह उम्मेदवारी दर्ताकै दिन पनि देखिएको थियो ।
कपिलवस्तु नगरपालिकाबाट राजपाका नेता एवं तराईमधेस लोकतान्त्रिक पार्टी तमलोपा कपिलवस्तु अध्यक्ष रामदास गुप्ताले मेयरमा, र नेता वासुदेव कसौधनले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्तासँगै हर समय जनताको घरदैलोमा पुगेका गुप्ता जनताबाट नै टाढिने आन्दोलनको कुनै तूक नहुनेसमेत बताउँछन् ।
मधेसी जनताले चुनाव चाहेकाले त्यही चाहना पूरा गर्न आफू निर्वाचनमा होमिएको बताउने गुप्ता आफूले गरेको काम नै जीतको आधार रहेको दावी गर्छन् ।
यसैगरी मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउपालिकामा पनि राजपाका नेता कार्यकर्ताले स्वतन्त्र रुपमै भएपनि उम्मेदवारी दिएका छन् ।
शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिकामा पनि मेयर बाहेक वडा अध्यक्ष र सदस्यहरूमा राजपाका कार्यकर्ताले उम्मेदवारी दिएका छन् ।
कपिलवस्तुको ६ नगरपालिका र ४ गाउँपालिका गरी १० स्थानीय तहमा ३१६० जनाको उम्मेदवारी परेको छ ।
जसमा २०७८ पुरुष र १०८२ महिला छन् । समग्रमा महिलाको पनि एक तिहाई उम्मेदवारी परेको छ ।
१२९ जनाले उम्मेदवारी दिएको प्रमुखमा पुरुष ११८ र महिला ११ जना छन् । ११६ जनाको उम्मेदारी परेको उपप्रमुखमा पुरुष ५९ र महिला ५७ जना छन् ।
वडा अध्यक्षमा ७३६ जना पुरुष र २० जना महिला छन् । सदस्य पदमा ११६५ जना पुरुष तथा महिला र दलित महिला सदस्यमा भने ९९४ जनाले उम्मेदवारी दिएका छन् । इमेजखबरमा समाचार छ ।