ताप्लेजुङको फक्ताङलुङ मतदान केन्द्रमा नेपालकै सबैभन्दा कम ४० जना मतदाता

ताप्लेजुङ जिल्लाको एक मतदान केन्द्रमा नेपालकै सबैभन्दा कम मतदाता रहेको पाईएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ग्याब्ला प्राथमिक विद्यालय मतदान केन्द्रमा जम्मा ४० जना मतदाता छन् ।
उक्त मतदान केन्द्रमा १९ पुरुष र २१ जना महिलाले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले बताए । सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्रको सूचीमा दोस्रो नम्बरमा पनि यही गाउँपालिकाको अर्को मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
वडा नम्बर ७ मा रहेको याङमा आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ५५ जनामात्र मतदाता छन् । यो गाउँपालिका सानो भएर मतदाता कम भने भएका होइनन् । यो गाउँपालिका जिल्लाकै सबैभन्दा ठुलो क्षेत्रफल ओगटेको गाउँपालिका हो ।
जिल्लाका अरू सबै गाउँपालिका र नगरपालिकाको क्षेत्रफल जोड्दा पनि यो गाउँपालिका कै क्षेत्रफल बढी हुुन आउँछ । फक्ताङलुङ गाउँपालिकाले जिल्लाको १ हजार ८ सय ५८ दशमलब ५१ वर्गा किलोमिटर क्षेत्रफल ओगटेको छ ।
जबकि बाँकी सबै गाउँपालिका र नगरपालिकाको क्षेत्रफल १ हजार ७ सय ७६ दशमलव ५ वर्गकिलोमिटर मात्र रहेको छ । यो गाउँपालिकाको एउटा वडाबाट अर्को वडा पुग्नै एक दिन सम्मको समय लाग्छ । इमेजखबरमा समाचार छ ।