गुल्मीमा मतदान उत्साह र शान्तिपूर्ण रुपमा सकिएको छ । मतदान शुरु हुनै लाग्दा बुधवार विहान केही केन्द्रहरुमा पानी परेपनि दिउँसोबाट मौसम सुधार भएपछि मतदाता थप उत्साही भएर मतदानमा सहभागी भएका थिए ।
२ सय ४० केन्द्रमा रहेका १ लाख ८० हजार ७ सय ७५ मतदाता मध्ये ७३ प्रतिशत भन्दा बढीले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृत मतृकाप्रसाद मरासेनीले जिल्लाभरबाट ७३ प्रतिशत भन्दा बढी मतदाता उत्साहपूर्वक सहभागी भएको बताए । मतदान शान्तिपूर्ण र उत्साहप्रद रुपमा सम्पन्न भयो, उनले भने, केही स्थानमा शुरुमा पानीको समस्या देखिएपनि त्यसले कुनै असर पारेन् ।मतदाताको उत्सापूर्ण उपस्थितिले सर्वसाधरण जनप्रतिनिधि चुन्न आतुर देखिएको उनले बताए ।
२० वर्षपछि भएको मतदानमा एमालेका केन्द्रीय सचिवद्धय प्रदिप ज्ञवालीले रुरु गाउँपालिकाको ज्ञवा बलेटक्सार मावि मतदान केन्द्रबाट, गोकर्ण विष्टले इश्मा गाउँपालिकाको रामराज्य मावि केन्द्रबाट र कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको जनजागृती मावि केन्द्रबाट विहानै मतदान गरेका थिए ।
मदाने गाउँपालिकाको बाँझकटेरी माविमा क्रियापुत्रीले मतदान गरे । छत्रकोट गाउँपालिकाको जनज्योती निमावि केन्द्रमा १ सय ५ वर्षीय बृद्धले मतदान गरे । त्यस्तै चन्द्रकोट गाउँपालिका ६ को हरेवा आधारभूत विद्यालयमा ९९ वर्षियले आफै मतदान गरेको निर्वाचन अधिकृतले जनाए ।
केही दुर्गमका मतदान केन्द्रमा सवारी पुग्न समस्या पर्ने भएकाले बुधवार रातीसम्म सबै स्थानबाट मतपेटिका संकलन गर्ने र विहीवार विहानैबाट मतगणना शुरु गरिने मरासेनीले बताए ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ७ शारदा मावि रुपाकोट केन्द्रमा बुधवार मतदान गर्दै मतदाता । गुल्मीमा ७३ प्रतिशत मत खसेको छ । कान्तिपुरमा समाचार छ ।