गोरखाको सुलिकोट गाउँपालिका-२ बारपाकमा पखालाबाट एक बालकको मृत्यु भएको छ ।
विगत दुई सातादेखि बारपाकमा पखाला फैलिएको हो, स्थानीय शिक्षक गौतम गुरुङले भने, बारपाकको कोजे गाउँका १५ महिने बालक अमृत घलेको मृत्यु भएपछि पखाला फैलिएको घटनाबाहिर आएको हो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भने, झाडापखालाको समस्या देखिएको सूचना प्राप्त हुनासाथ त्यसको नियन्त्रण गर्न र दूषित पानी प्रयोग नगर्न जनचेतना जगाउन स्वास्थ्यकर्मीको टोली त्यस क्षेत्रमा परिचालन गरिएको हो ।
जिल्लास्थित स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा स्वास्थ्यकर्मी बारपाक पठाइएको हो । ती स्वास्थ्यकर्मी बारपाक पुगेपछि महिला स्वास्थ्य स्वयमसेविका र धामीझाँक्रीलाई तालिम दिनेछन् ।’
दिनहुँ चार/पाँचजना पखालाका बिरामी उपचारका लागि यहाँ आउने गरेको स्वास्थ्य चौकी बारपाकका प्रमुख अनिलकुमार शाहले बताए ।
शाहले भने, पखाला अब नियन्त्रणमा आउँछ, यो महामारी होइन र औषधिको पनि अभाव छैन । जीवनजल लगायतका औषधि बिरामीलाई उपलब्ध गराइरहेकोे उनले बताए ।
दूषित पानीको प्रयोगले गर्दा पखालाको समस्या देखिएको हो । बारपाकका शौचालयमा पानी राख्ने, साबुनपानीले हात धुने र शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नेबारे जनचेतना अभियान सञ्चालन गरेको छौं, शाहले बताए । (रासस)