अख्तियारद्वारा शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १० बर्षसम्म कैद गर्न माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८४२ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको हो ।
तीनै जनाविरुद्ध बिगो बमोजिमको जरिवाना असुल्न पनि अख्तियारले माग गरेको छ ।
बिगो र जरिवाना मागदाबी गरेको कूल रकम जोड्दा यो झन्डै ३३ अर्बको हाराहारीमा पुग्नेछ ।
भ्रष्टाचार निवारण ऐनको दफा ७ मा राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ ।
यसैगरी अख्तियारले उनीहरुमाथि ८ देखि १० वर्ष कैद सजायँ गर्न पनि माग गरेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिए ।
कर फछ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा गलत नियतले काम गरेको भन्दै अख्तियारले छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ ।
शर्मा अख्तियारको हिरासतमा रहेपनि महत र ढकाल भने फरार छन् ।
अख्तियारले एक हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान टुंग्याएको हो ।
त्यसमा केही विवादास्पद र चर्चित कम्पनीका फाइलसमेत रहेको दावी गरिएको छ ।
२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फस्र्यौट आयोग गठन गरेका थिए । इमेजखबरमा समाचार छ ।