तोकिएकै मितिमा प्रदेश नं‍. २ मा स्थानीय निर्वाचन सम्पन्न हुनेमा प्रमुख निर्वाचन आयुक्तको विश्वास

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं‍. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
शुक्रबार गौशालामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने – तेस्रो चरणअन्तर्गत प्रदेश नं- २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।
प्रमुख आयुक्त यादवले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे ।
यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिए । रासस