समयमै पर्याप्त वर्षा नभएपछि मोरङमा धान रोपाई ढिला

समयमै पर्याप्त वर्षा नभएपछि मोरङमा यो वर्ष धान रोपाई ढिला भएको छ ।
आकाशे पानीको भर पर्नु पर्ने वाध्यताका कारण जिल्लाका अधिकांस खेतीयोग्य जमिन अहिलेपनि वाझै छन ।
खडेरीका कारण समयमै धान रोपाई हुन नपाएपछि वर्षा कसरी काट्ने भन्ने चिन्तामा किसानहरु पिरोलिन थालेका छन ।
मोरङ रंगेलीका कृषक कुषप्रसाद यादव खेतको व्याडमा धानको वेर्ना काट्न तल्लिन देखिन्छन् ।
आकाशे पानीको भरमा धान खेती लगाउंदै आएका यादव यो वर्ष पानी नपरेपछि खेतको व्याडमा हुर्केको धानको वेर्ना गाईलाई खुवाउन काट्न थालेका हुन् ।
यादव जस्तै यस भेगका अधिकांश कृषकको अवस्था उस्तै छ । यो बर्ष पर्याप्त बर्षा नहुंदा बेर्ना खेतमै सुक्न थालेपछि किसानहरुले गाईवस्तुलाई खुवाउन थालेका छन् ।
आकाशे पानीको भरमा धान खेती गर्दै आएपनि यो वर्ष भने समयमै पानी नपरेका कारण वोरिङ लगाएर खेती गर्दा आर्थिक भार वढेकोले समस्या भएको अर्का कृषक सलमान खातुन बताउँछन् ।
असार महिनाको दोस्रो हप्ता भित्रै धान रोपाइ सम्पन्न गरिसक्ने भएपनि यो बर्ष साउनको पहिलो साताबाट मात्र धान रोपाइ शुरु भएको कृषक सिता मुख्या बताउंछिन् ।
समयमै पानी नपरेपछि यो वर्ष मोरङ जिल्लामा धानको उत्पादन ३० प्रतिशतले घट्ने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ ।
खडेरीका कारण यो बर्ष साउनको पहिलो सातासम्ममा ५१ प्रतिशत मात्र धान खेती भएको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोजकुमार यादव बताए ।
पुर्वी नेपालमा सवैभन्दा वढी धान उत्पादन हुने झापा जिल्ला पछिको दोस्रो मोरङ पर्दछ । मोरङमा ९२ हजार ८ सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
जसमा मोरङमा वार्षिक रुपमा ४ लाख २८ हजार ९ सय ९४ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । इमेजखबरमा समाचार छ ।