सरकारले पहिचान गरिएका तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने

सरकारले पहिचान गरिएका तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिकानुरुप २५ जिल्लामा विवरण संकलन भएका १२ लाख २४ हजार चार घर-परिवारमध्ये स्वीकृत गरिब परिवारको नामावली अनुमोदन गरी परिचयपत्र वितरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सन्चारकर्मीलाई जानकारी दिए ।
बैठकले अनशनरत् चिकित्साशास्त्र अध्ययन संस्थानका चिकित्सक प्रा.डा. गोविन्द केसीको अनशनलाई सधैंका लागि अन्त्य गर्न तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।
शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव रहेको वार्ता टोली गठन भएको अर्थमन्त्री कार्कीले बताए । रासस