राजधानीका सडकको अवस्था विकराल, सरोकारवालाहरुले पहल सुरु गरे

राजधानीका सडकको अवस्था सुधार गर्न सरोकारवालाहरुले पहल सुरु गरेका छन् ।
महानगरीय ट्राफिक महाशाखाको समन्वयमा सोमबार राजधानीमा गरिएको अन्तरक्रियामा सरोकारवालाहरुले आ-आफ्नो ठाउँबाट सडकको अवस्था सुधार गर्न गम्भीर ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले राजधानीका सडकको अवस्था विकराल बनेको भन्दै यसको व्यवस्थापन गर्न ढिलाइ भइसकेको बताए ।
उनले सबै निकायबीच समन्वय गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले राजधानीका सडकका खाल्डाखुल्डी छिटो र छरितो ढंगले पुर्न आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महानगरीय ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनालले सडक सुधारका लागि आफ्नो क्षेत्रबाट हुने सहयोग कायम राख्दै ट्राफिक व्यवस्थापनका लागि नयाँ योजना लागू गर्ने तयारी गरिरहेको बताए ।
उनले सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायलाई पहल गर्न सुझाव दिए ।
अन्तक्रियामा सहभागी यातायात व्यवसायी महासंघ, माइक्रोबस, ट्रक, ट्रिपर, ट्याक्सी व्यवसाय संघका प्रतिनिधिहरुले सडकको अवस्था सुधार गर्न सुझाव दिएका थिए । इमेजखबरमा समाचार छ ।