शिलन्यास भएको १६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरु

शिलन्यास भएको १६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरु भएको छ ।
निर्माणकार्यको बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले शुभारम्भ गरे ।
चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कोअपरेसन लिमिटेडको एसिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले विमानस्थल निर्माणमा ६० कामदार र अरु प्राविधिक गरी हाल ११० जना संलग्न रहेको जानकारी दिए । शाखा कार्यालय, अस्थायी शिविरको निर्माण भइरहेको उनले बताए ।
विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार बन्ने विश्वास मन्त्री देवले व्यक्त गरे ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ४० वर्षदेखिको पोखरेलीको सपना पूरा हुन लागेको बताए ।
विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवं व्यवस्थापिका-संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै अब भने आगामी २०२१ जुलाई १० भित्र निर्माणकार्य सकिने बताए ।
यस्तै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले निर्माणकार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।
सरकारले सुरुमा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिसकेको छ भने पछिल्लो समय थप ५२१ रोपनी जग्गा पनि अधिग्रहण गरी मुआब्जा वितरण गरेको छ ।
विमानस्थल निर्माणको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ । इमेजखबरमा समाचार छ ।