म्याग्दीका सबै सडक पहिरोले अवरुद्, यातायात पुरै ठप्प

म्याग्दीको सदरमुकाम बेनीबाट छुट्ने सबै सडकमा साना-ठूला पहिरो झरेकोले यातायात पुरै ठप्प भएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङहुँदै उत्तरी छिमेकी चीन जोड्ने अन्तरदेशीय बेनी-जोमसोम-कोरला सडकको बेनी-घाँसा ४१ किलोमिटर खण्ड पहिरोले छियाँछियाँ भएपछि यातायात ठप्प छ । बेनी-घाँसा सडकखण्डको चमेरे र गुईठे भिरमा पहिरो झरेको छ भने बेगखोला र घट्टेखोलामा खहरे बढेकोले सवारी चलाउने सकिने अवस्था नभएको प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी सदरमुकामबाट पश्चिम दरवाङ्ग तर्फ छुट्ने बेनी-दरवाङ्ग २४ किमी सडकको फापरखेत र लाम्पाटामा गएको पहिरोले यातायात अवरुद्ध छ । दरवाङ्गबाट पश्चिम बाग्लुङ्ग जोड्ने रुम सडक, ताकम र विम सडकहरु पनि पहिरोले अवरुद्ध छन । बेनी-पाखापानी, भकिम्ली, कुहुँ र गलेश्वर-भगवती, पोखरे-शिख, महभीर-राम्चे ग्रामिण सडकहरु पनि पहिरो र खहरेबढेकोले यातायात अवरुद्ध छन् ।
लगातारको झरीपछि आएको बाढी/पहिरोले क्षति पुर्‍याएकोले जिल्लाका कुनै पनि सडक सवारी चल्न सक्ने अवस्थामा छैनन प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले भनिन्, झरी नरोकिएकोले तत्काल सडक मर्मत सम्भव छैन । झरी रोकियो भने शुक्रबारसम्म सडक खुल्न सक्छ । कान्तिपुरमा समाचार छ ।