कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी बिहीबार चारजनाको ज्यान भएको छ ।
बिहीबार दिउँसो १ः३० बजेतिर पूर्वपश्चिम लोकमार्गअन्तर्गत् जिल्लाको बनगाई-गोरुसिंगे सडकखन्डको कोन्द्रेखोलानजिक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ३३७१ नम्बरको बसले रा४प ४४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट रोल्पा, जाउलीपोखरी बस्ने ३८ वर्षीय हुमबहादुर पुनमगरको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
मोटरसाइकलमा सवार पुनकी श्रीमती र डेढ वर्षीय छोराको अवस्था गम्भीर रहेको छ ।
यसैगरी, जिल्लामा परेको अविरल वर्षाका कारण आएको खोलाले बगाउँदा बाणगंगा नगरपालिका वडा नम्बर-११, विजयनगर गाउँपालिका वडा नम्बर-१ र शिवराज नगरपालिका वडा नम्बर-९ मा गरी तीनजनाको मृत्यु भएको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर-११ मा पर्ने मधुनिधिघाट खोलामा डुबेर १७ वर्षीय सागर थारुको मृत्यु भएको हो ।
खोलामा पुगेको भैंसी निकाल्न जानेक्रममा डुबेर बेपत्ता भएका थारु घटनास्थलदेखि १०० मिटर तल नदी किनारमा मृत भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
यसैगरी, आफन्तको मृत्युको किरिया गर्नेक्रममा विजयनगर गाउँपालिका वडा नम्बर-१, नौडिहवामास्थित बिसहवा खोलाले बगाउँदा ५० वर्षीय पुष्टे सुनारको मृत्यु भएको हो ।
सोही ठाउँमा रोल्पा नै घर भइ विजयनगर गाउँपालिका वडा नम्बर-१, नौडिहवामा आफन्तको घरमा आएका ५१ वर्षीय नेत्र सुनार भने खोलामा डुबेर बेपत्ता भएको गणेशपुर प्रहरीचौकीले जनाएको छ ।
यस्तै, शिवराज-९ शिवगढी बानियाँभारमा कक्षा-४ मा अध्ययनरत् ८ वर्षीय सन्दीप बिकको पनि बिहीबार खोलामा डुबेर ज्यान गएको छ ।
निउरो टिप्न जंगल गएका बिक पौडी खेल्न भन्दै खोलामा जाँदा डुबेर ज्यान गएको जनाइएको छ । इमेजखबरमा समाचार छ ।