अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दा कैलालीका अधिकांश भू-भाग डुबानमा परेका छन् ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने घोडाघोडी नगरपालिका-१० घुम्नीभाकलमा कान्द्रा नदीको पानी पस्दा करिब १ सय ५० घरधुरी डुबानमा परेका छन् भने करिब ७० भन्दा बढी घरधुरीमा क्षति पुगेको छ ।
सो क्षेत्रमा २०६४ असोज ४ गते आएको बाढीले राजमार्ग नै बगाएको थियो भने सयौं घरधुरी डुबानमा परेका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले डुबानमा परेका स्थानीयहरुलाई सुरक्षित रहन आग्रह गरेको बताउँदै नेपाल रेडक्रस सोसाईटी, ईलाका प्रशासन कार्यालय सुखड र प्रहरीको सहयोगमा उद्धार जारी रहेको बताए । उनले डुबानका कारण सो क्षेत्रमा दर्जनौं पशुचौपायाको मृत्यु भएको समेत बताए ।
स्थानीयहरुले मरेको पशुचौपायाका कारण रोग लाग्न सक्ने भन्दै प्रशासनलाई सो क्षेत्रबाट मरेका पशुचौपाया हटाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
उता कैलालीको पूर्वी क्षेत्रमा समेत डुबान हुन सक्ने संकेत देखिएको छ । जलमापन केन्द्रले कर्णालीको सतह खतराको संकेतभन्दा माथि पुगेको भन्दै सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
अहिले कर्णालीको पानीको सतह १० मिटर रहेको भन्दै नदीमा पानी बढ्दै गइरहेकोले सुरक्षित रहन आग्रह गरिएको छ ।
कर्णाली नदीका कारण कैलालीको दक्षिणी क्षेत्र टीकापुर, धनसिंहपुर, नारायणपुर लगायतका क्षेत्र उच्च जोखिममा पर्ने गरेका छन् । इमेजखबरमा सम्चार छ ।