सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै ढुवानी ठप्प

सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै पेट्रोलियम डिलर्स एसोसिएसनले बिहीबारदेखि ढुवानी ठप्प पारेको छ । त्यहाँबाट पेट्रोलियम पदार्थ खरिद गर्दा प्रतिकेलमा ५० लिटरसम्म कम दिने गरेको व्यवसायीले आरोप लगाए ।
यसबारेमा पटकपटक नेपाल आयल निगमलाई पनि जानकारी गराएको एसोसिएसनका वीरगन्ज अध्यक्ष विनोद चौरसियाले बताए । समस्या समाधान नभए आगामी आइतबारदेखि डिजेल ढुवानी पनि ठप्प गर्ने निर्णय गरेका छौं,  उनले भने । 
आईओसी रक्सौलले नेपाली व्यापारीहरूलाई हेप्ने तथा ठग्ने कार्य गरिरहे तापनि नेपाल आयल निगमले चासो नदेखाएपछि आफूहरूले आन्दोलन गर्न बाध्य भएको अध्यक्ष चौरसियाले बताए । 
पर्सामा मंगलबारदेखि नै एसोसिएसनले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जसले गर्दा जिल्लामा इन्धनको हाहाकार मच्चिएको उपभोक्ताहरूले गुनासो गरेका छन् । कान्तिपुरमा समाचार छ ।