ताप्लेजुङमा हत्यारा पत्ता लगाउन माग गदै महिला आन्दोलित

ताप्लेजुङको निघुरादिनकी सिर्जना कुरुम्बाङ थलङको हत्याको विषयलाई प्रहरीले गम्भीरताका साथ नलिएको भन्दै ताप्लेजुङका महिला आन्दोलित भएका छन् ।
गत असार ३० गते घरनजिकैको मकैबारीमा मृत अवस्थामा भेटिएकी सिर्जनाको हत्यारालाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अन्तरपार्टी महिला सञ्जाल नेतृत्वका महिलाहरु आन्दोलित बनेका हुन् ।
सञ्जालले आइतबार सदरमुकामस्थित वीरेन्द्रचोकमा कोणसभा गर्दै प्रहरीले हत्यारा चाँडो पत्ता नलगाए अनशनसहितका चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका केहीलाई छाडेको र कोही छुट्ने तयारीमा रहेको भन्दै सञ्जालले अनुसन्धान फितलो बनाउने प्रयास भइरहेको आरोप पनि लगाएको छ ।
सिर्जनालाई उनका परिवारका सदस्यले नै हत्या गरेको सञ्जालको दाबी छ । उनका श्रीमान् दिलीप थलङ वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका छन् । सिर्जना ६ वर्षीय छोरा विप्लवसँगै छुट्टै घरमा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक होमप्रसाद दाहालले भने घटनामा संलग्न रहेकाकोबारेमा अनुसन्धान भइरहेको जानकारी दिए । इमेजखबरमा समाचार छ ।