दसैं आउन एक महिना पनि बाँकी छैन, अग्रिम टिकट बुकिङ खुल्ने टुंगो भएन

नेपालीहरुको महान् पर्व दसैं आउन एक महिना पनि बाँकी छैन । तर, योपटक लामो दूरीको यातायात बुकिङ भने अझै खुलेको छैन ।
अग्रिम टिकट बुकिङ खुल्ने टुंगो पनि नरहेको यातायात व्यवसायीहरुको भनाइ छ ।
यातायात व्यावसायीहरु दसैंको मुखमा छतमा मान्छे राख्न पाउनुपर्ने माग राखेर अत्तो थापिरहेका छन् ।
सरकारले छतमा सामान र मानिस मनपरी राखेका कारण दुर्घटना बढेको भन्दै गत वर्षदेखि छतको क्यारियर हटाइदिएको थियो । तर, व्यवसायीहरु त्यही क्यारियर राख्न पाउनुपर्ने माग राख्दै चाडबाडको मुखमा सरकारमाथि दबाब दिइरहेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडावृद्धि गर्नुपर्ने माग राखेर बुकिङ नरोकेको दाबी गर्दै वार्ता चलिरहेकाले बुकिङबारे यसै भन्न नसकिने बताउँछन् ।
क्यारियरमा यात्री राख्नेलाई कडा कारबाही गर्नुपर्नेमा आफूहरु पनि सहमत रहेको र क्यारियर नै नभए यात्रीको सामान कहाँ राख्ने भन्ने व्यावहारिक पक्षतिर पनि सरकारले ध्यान दिनुपर्ने सिटौलाको भनाइ रहेको छ । क्यारियर नराखी सम्भव नै नहुने उनको जिकिर छ । इमेजखबरमा समाचार छ ।