बाढीका कारण राजधानी काठमाडौंकै एक सामुदायिक विद्यालय डुबानमा परेपछि अनिश्चितकालका लागि पठन-पाठन बन्द भएको छ ।
राम्रो नतिजा ल्याउनेमध्येको एक सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालय (बाफल) यही भदौ १४ गते रातिको वर्षासँगै नजिकैको मनमति खोलाको बाढी पसेर पाँच फिटसम्म डुबानमा परेको हो ।
शिशु कक्षादेखि १२ सम्म कुल दुई हजार २०० विद्यार्थी र ७६ जना शिक्षक रहेको सो विद्यालयको पूर्व र उत्तरतर्फबाट मनमति खोला पस्दा करिब रु ५५ लाख बराबरको क्षति भएको प्रधानाध्यापक नातिकाजी महर्जनले राससलाई जानकारी दिए ।
‘सोच्नै नसकिने गरी विक्षिप्त स्थिति बनेको छ, उद्धारका लागि सम्बन्धित निकायमा गुहार मागिएको छ तर पर्याप्त सहयोग पाइएको छैन’–उनले भने–‘जतिखेर पनि विद्यालयमा बस्न मन पराउने हामीलाई अहिले पस्नै मन नलाग्ने बनाइदिएको छ ।’
विद्यालयमा बिहीबार र शुक्रबार पढाइ पूर्णतः बन्द भएको छ भने हिलो पन्छाउन कठिन भएकाले अझै केही दिनपछिमात्र विद्यालय खुल्नसक्ने देखिएको छ । रासस