शिक्षा, प्रविधि र चेतनाको स्तर वृद्धिसँगै समाजमा भ्रातृत्व र सहिष्णुता बढ्दै जानु पर्नेमा रुकुममा भने त्यसको ठिक विपरित भएको छ ।
पछिल्लो पटक रुकुम जिल्लामा विभिन्न प्रकृतिका मुद्दाहरु दिन प्रतिदिन बढिरहेको पाईएको छ । आइतबार जिल्ला अदालत रुकुमले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा सम्बन्धविच्छेद, अंशवण्डा, कुटपिट, चोरीडकैती लगायतका मुद्दा बढ्दै गएको हो ।
गत वर्षमात्र अदालतमा १ सय ६७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बताईएको छ । वैदेशिक रोजगारी, अशिक्षा, बहुविवाह, कम उमेरमै विवाह गर्ने गरेका कारण सम्बन्धविच्छेदका मुद्दा बढेको जिल्ला न्यायाधीश डण्डपानी शर्माले बताए ।
मुद्दा दर्ता गराउनेहरुमा १४ वर्षदेखि ५३ वर्ष उमेर समुहका महिला छन् । साथै गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट भएको छ ।
अदालतले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ८०.५८ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।
अदालतको न्यायिक काम प्रवाह गर्ने क्रममा वार्षिक लक्ष्य ७५ प्रतिशत रहेकोमा लक्ष्यभन्दा बढी मुद्दा फैसला गरिएको हो । अदालतमा दर्ता भएका विभिन्न प्रकृतिका ४ सय ४८ मुद्दामध्ये ३ सय ६१ वटा फर्छ्यौट भईसकेको र ८७ मुद्दा विचाराधिन छन् । इमेजखबरमा समाचार छ ।